तियानमेन घटनाको स्मृतिमा हङकङ विश्वविद्यालयमा बनाइएको ‘पिल्लर अफ शेम’ हटाइयो

काठमाडौँ — हङकङ विश्वविद्यालय परिसरमा तियानमेन घटनाको सम्झनामा बनाइएको प्रतीमा ‘पिल्लर अफ शेम’ हटाइएको छ । बुधबार रातभर मजदुरहरुलाई खटाएर २६ फिट अग्लो उक्त प्रतीमा हटाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

चीनको राजधानी बेइजिङको तियानमेन स्क्वायरमा सन् १९८९ मा लोकतन्त्रको समर्थनमा ठूलो विरोध प्रदर्शन भएको थियो । तत्कालीन चिनियाँ सरकारले विरोधलाई मत्थर पार्न प्रदर्शनकारीमाथि गोली चलाएको थियो । चिनियाँ सरकारले उक्त घटनामा २ सय जनाको मृत्यु भएको दाबी गरे पनि विद्यार्थी नेताहरूले भने ३ हजार ४ सयको मृत्यु भएको बताएका थिए ।

सन् २०१७ मा बेलायतले सार्वजनिक गरेको गोप्य दस्तावेजमा भने उक्त घटनामा कम्तीमा १० हजार जना मारिएको दाबी गरिएको छ । तियानमेन घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही नगरिएको भन्दै पश्चिमा देशहरूले बेलाबेलामा चीन सरकारलाई कठघरामा उभ्याउने गरेका छन् ।

तस्बिर : रोयटर्स

अक्टोबरमा प्रतीमा हटाउन आदेश आए पनि बुधबार मात्रै हटाइएको हङकङ विश्वविद्यालयले जनाएको छ । प्रतीमा जीर्ण अवस्थामा रहेको र सुरक्षा जोखिमलाई मध्यनजर गर्दै हटाइएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले उक्त प्रतीमा गोदाममा राख्ने बताएको छ यो प्रतीमा डेनमार्कका मूर्तिकार येन्स ग्याल्सिटले २४ वर्षअघि बनाएका थिए ।

मूर्तिकार ग्याल्सिटले प्रतीमा हटाइनु ‘क्रुर घटना’ भएको बताएका छन् । बीबीसीको न्युजआवर कार्यक्रममा कुरा गर्दै उनले भनेका छन्, ‘यो प्रतीमा मृतकहरूको स्मृतिमा बनाइएको हो । सन् १९८९ मा बेइजिङमा मारिएका व्यक्तिहरूको सम्झनामा बनाइएको हो । यसलाई यसरी तोड्नु कुनै चिहानघरमा गएर चिहान तोड्नुजस्तै हो ।’