काठमाडौँ — मध्य अगस्टमा तालिबानले सत्ता कब्जा गरेयता तीन महिना बितिसकेको छ । यसबीचमा तालिबानले सरकार गठन गरिसक्यो । तर समय घर्किँदै गर्दा अफगानिस्तान गहिरो संकटतर्फ उन्मुख छ । अफगानिस्तानको अवस्था झन् बिग्रँदै गएको छ ।
विशेषगरी चिसो मौसम सुरु भएसँगै यहाँका अधिकांश मानिसले खाद्य संकट सामना गर्नुपरेको छ । विभिन्न अधिकार समूह तथा संस्थाले यस्तो अवस्थाप्रति चिन्ता प्रकट गर्दै आएका छन् । यस्तो अवस्थाले विकराल रुप ल्याउने भन्दै चेतावनीसमेत दिइएको छ ।
जाडो सुरु हुने बित्तिकै लगभग २ करोड ३० लाख मानिसहरूमध्ये आधाभन्दा बढी जनसंख्या चरम स्तरको भोकमरीको सामना गरिरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार ५ वर्षमुनिका कम्तीमा १० लाख बालबालिका भोकमरीका कारण मृत्युको जोखिममा रहेको बताइएको छ । जुन संख्या २० वर्षको युद्धमा मृत्यु हुने बालबालिकाको संख्याभन्दा धेरै हो ।
सिएनएनले यसबारे एक रिपोर्ट प्रकाशन गरेको छ । पछिल्लो संकट सामना गरिरहेका बालबालिकाको एक प्रतिनिधि पात्र हुन्, कमिला । झण्डै ३ वर्षकी उनको तौल जम्मा ११ पाउन्ड अर्थात् ५ केजी छ । अस्पतालमा उनको शरीर हाड छालामै सिमित देखिन्छ । कमिला पछिल्लो ८ महिनादेखि कुपोषित छिन् ।
दक्षिणी कानदहरस्थित एक अस्पतालमा उनकी हजुरआमा बिल्किसले उनको हेरचाह हेरिरहेकी छन् । बिल्किस आफ्नो परिवार गरिब भएको बताउँछिन् । र उपचारका लागि आर्थिक अभावको सामना गरिरहेको उनको दुखेसो छ । कमिलाकी आमा पनि बिरामी भएको उनकी हजुरआमा बताउँछिन् । यतिसम्म कि कमिलालाई स्तनपान गर्नसमेत उनले सक्दिनन् । कमिलाको परिवार आम अफगान परिवारको प्रतिनिधि परिवार हो । जसले आर्थिक संकट र चिसो मौसमसँगै उत्पन्न भएको खाद्य संकट विरुद्ध संघर्ष गरिरहेको छ
कमिला जस्ता ठूलो संख्यामा बालबालिकाहरू हाल अफगानिस्तानमा खाद्य संकटबाट गुज्रिनु परेको छ । सिएनएनको रपोर्टअनुसार ठूलो संख्यामा अधिकांश बालबालिकाले पछिल्लो समय कुपोषणको सामना गरिरहेका छन् । यस्तै उत्तिकै मात्रामा महिलाहरू जोखिमपूर्ण जीवनयापन गरिरहेका छन् ।
अनिकालको जोखिम कुनै समय ग्रामीण क्षेत्रहरूमा मात्र सीमित थियो । तर अहिले अफगानिस्तानका विकसित र सघन जनसंख्या भएका सहरसम्मै फैलिएपछि त्यसले धेरैलाई चिन्तित बनाएको छ । देशका अधिकांश सहरले खाद्य असुरक्षाको सामना गर्नु परेको बताइन्छ ।
तालिबान नेताहरू भने सबै सहरमा खाद्यान्न प्रसस्त भएको दाबी गर्छन् । तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार कोही पनि भोकै बस्नुपर्दैन । सहरहरू सबैमा खाद्यान्न प्रसस्त छ ।
त्यसो त तालिबान शक्तिमा आउनुअघि पनि खडेरी, द्वन्द्व, महामारी र आर्थिक मन्दीका कारण गरिबी, खाद्य असुरक्षा र बेरोजगारी जस्ता समस्या व्याप्त थियो । तर तालिबानले सत्ता कब्जा गरेको तीन महिनापछि यो संकट तीव्र रुपमा गहिरिएको छ । विदेशी विकास तथा दातृ संस्थाको अर्बौँ डलर रकम पनि रोकिएको छ ।
जाडो मौसमसँगै आधा जनसंख्या चरम भोकमरीको सामना गर्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ । कम्तीमा ५ वर्षमुनिका १० लाख बालबालिकाहरू भोकमरीबाट मृत्युको जोखिममा छन् । सहरका अस्पतालसमेत यस्तो संकट भोग्दै छन् कि बिरामीलाई न्यानो बनाउन इन्धनका लागि पैसा अभाव भएपछि रुख काटेर दाउरा बाल्दै अस्पतालका कोठा न्यानो पार्दैछन् ।कान्तिपुर सभार

इ-डटपेन 









