लक्ष्यअनुसार राजस्व उठेन

धनगढी — सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी राजस्य संकलन हुने कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा मासिक लक्ष्य पूरा गर्न सकेको छैन । भन्सार कार्यालयका अनुसार कैलाली भन्सारको साउनदेखि मंसिरसम्मको मासिक लक्ष्य ४ अर्व ६१ करोडमा ३ अर्व ९३ करोड मात्रै राजस्व उठाउन सकेको छ । यो मासिक लक्ष्यको प्रगतिमा ८५ प्रतिशत मात्रैं हो । वार्षिक ११ अर्ब ८२ करोड राजस्व लक्ष्यको ३३ प्रतिशत मात्रै प्रगति भएको भन्सार अधिकृत मदनराज पन्तले बताए ।

कार्यालयको तथ्यांकअनुसार साउनको मासिक लक्ष्य ७० करोड ६० लाख राजस्व उठ्नुपर्नेमा ६२ करोड ८९ लाख मात्रै संकलन भएको छ । भदौमा ९२ करोड ५३ लाखको लक्ष्य पूरा गर्नुपर्नेमा भन्सार कार्यालयले ८१ करोड १४ लाख, असोजको लक्ष्य ९४ करोड ७६ पूरा गर्नुपर्नेमा ७७ करोड ८६ लाख, कात्तिकको १ अर्व १ करोड ६ लाख लक्ष्य भए पनि ८२ करोड ७३ लाख मात्रै राजस्व उठेको देखिन्छ ।

त्यस्तै, मंसिरको १ अर्ब २ करोड ६९ लाख राजस्व लक्ष्य लिएको भन्सार कार्यालयले ८९ करोड ५१ लाख मात्रैं संकलन गरेको छ । ‘भन्सार कार्यालयले वार्षिक लक्ष्यलाई पूरा गर्न ६ महिनामा ५० प्रतिशत प्रगती हासिल गरिसक्नुपर्थ्यो’ भन्सार अधिकृत पन्तले भने, ‘वार्षिक लक्ष्य पूरा गर्न गाह्रो हुने भएको छ ।’ उनका अनुसार कोरोनाकालमा पनि कैलाली भन्सारले वार्षिक लक्ष्य पूरा गर्दै आएको थियो । यो वर्ष १५ देखि २० प्रतिशत प्रगति कम हुने देखिन्छ ।

प्रमुख भन्सार अधिकृत नरबहादुर थापाले वार्षिक लक्ष्य नै यस वर्ष ४४ प्रतिशतले बढाएको कारण पूरा गर्न मुस्किल भएको बताए । ‘गत वर्षको तुलनामा व्यापार पनि भएको छैन,’ उनले भने, ‘कारोना महामारीको कारण व्यवसायमा असर पर्दा राजश्व संकलनमा पनि प्रभाव परेको हुन सक्छ ।’ भन्सार प्रमुख थापाले थोरै प्रतिशत भए पनि खुल्ला सीमानाकाबाट हुने राजस्व चुहावटको कारण पनि भन्सारको राजस्व संकलनमा असर परिरहेको बताए । ‘राजस्व पनि उठेन, खुल्ला सीमानाकाबाट तस्करीका वस्तुहरू पनि कम बरामद भयो भने चोरीतस्करी बढेको बुझन सकिन्छ,’ उनले भने, ‘अवैध नाकाको चोरीतस्करीबाट हुने राजस्व चुहावट नियन्त्रण पनि गर्नुपर्ने आवश्यक देखिएको छ ।’

कैलाली भन्सारले सबैभन्दा बढी पेट्रोलियम पदार्थबाट राजस्व उठाउने गरेको छ । सुदूरपश्चिम प्रदेशका लागि कैलालीको नाकाबाट मात्र पेट्रोलियम पदार्थ आयात हुने गरेको छ । पेट्रोलियम पदार्थबाट कैलाली भन्सारले ५५ प्रतिशत जति भन्सार महसुल उठाउने गरेको छ । पेट्रोलियम पदार्थपछि यो वर्षको पाँच महिनामा चिनी, खाना पकाउने ग्यास, दालमोठ भुजिया, टायल मार्वल , हार्डवेयर, लत्ताकपडा, ट्र्याक्टर, पेपर कागजलगायतका अन्य वस्तुबाट राजस्व बढी उठने गरेको भन्सार कार्यालयले जनाएको छ ।