भजनी, कैलाली — कैलालीको भजनी नगरपालिका–३ का कलमबहादुर चौधरीको घरभित्र धान थन्काउने ठाउँसमेत छैन । सरकारले तोकेको मूल्यभन्दा एक हजार सस्तोमा दिँदा पनि उनको धान बिकेको छैन । धान बिक्री गर्न नपाउँदा आर्थिक भार बढेको उनी बताउँछन् । गत कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले १७ बिघामा लगाएको उनको झन्डै आधा धानबाली बगायो । आधा खेतको धान बाली पूरै ढलायो ।
‘काटेर खेतमै रहेको ७ बिघाभन्दा बढीको धान बाढीले बगाएर लग्यो,’ चौधरीले भने, ‘काट्न बाँकी ९/१० बिघाको धान पूरै ढलेको अवस्थामा उठाउन पाएका थियौं । त्यो न खान लायक भयो, न बिक्रीका लागि उपयुक्त ।’ भिजेको धान खेतबाट निकाल्दा करिब २ सय क्विन्टल बचेको उनले बताए । ‘आफ्ना लागि राखेर, बाँकी धान सस्तोमा बेच्नुपरेको छ,’ उनले भने, ‘तर पनि किनिदिने कोही छैनन् ।’ गहुँ लगाउने समयमा मल, डिजल, बीउ र मजदुरका लागि पैसाको आवश्यकता बढी भएकाले धान बेच्न हतार भइरहेको उनले गुनासो गरे । गहुँ खेतीका लागि मात्र ५ लाख ऋणभार थपिएको उनले बताए ।
बेमौसमी बाढी पसेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा भजनीलगायत क्षेत्रमा पुगेका थिए । प्रधानमन्त्री देउवाले दिएको प्रतिबद्धता सम्झिँदै चौधरीले भने, ‘मर्कामा परेका किसानलाई राहत मिल्छ भनेका थिए । तर अहिलेसम्म केही पाउन सकेनौं । अब त सरकारले धान खरिद गरिदिए हाम्रा लागि ठूलो राहत हुने थियो ।’ सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि धान नकिनिदिएको उनको गुनासो छ । कैलालीमा बेमौसमी वर्षाले धानको गुणस्तर खस्काइदिएकाले किन्न नसिकएको कम्पनीकी प्रादेशिक प्रमुख इन्जिला बस्नेतले जानकारी दिइन् । ‘हाम्रो वार्षिक लक्ष्य कैलालीबाट ३५ हजार क्विन्टल धान खरिद गर्ने हो,’ उनले भनिन्, ‘किसानबाट गुणस्तरीय धान नआएकाले खरिद बन्द गरेका छौं ।’
कम्पनीले कैलालीको टीकापुरको सत्ती र धनगढीको मोहनपुरमा खरिद केन्द्र खोलेको थियो । मंसिर २२ मा टीकापुर क्षेत्रका किसानले भिजेको धान पनि सरकारले खरिद गर्नुपर्ने भन्दै दबाब सिर्जना गर्दा खरिद केन्द्रलाई बन्द गर्नुपरेको बस्नेतले बताइन् । कम्पनीले धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ५२ रुपैयाँ तोकेको छ । तर प्रतिक्विन्टल धानको मूल्य १५/१६ सय रुपैयाँ दिए पनि खुसी भएर बेच्ने भजनीका कलम चौधरीको भनाइ छ । १७ बिघामा धान लगाउँदा बीउ, मल, डिजल र मजदुरका लागि खर्च मात्र पाँच लाख रुपैयाँभन्दा बढी भएको उनले जानकारी दिए ।
बेमौसमी वर्षाले भिजाएको धान बिक्री नहुँदा कैलालीका धेरैजसो किसान मर्कामा छन् । उनीहरूले बेमौसमी वर्षाले भिजाएको धान खान लायक पनि नभएको र बिक्रीका लागि पनि उपयुक्त नभएको बताइरहेका छन् । ‘भिजेको धान मिलमा कुट्दा आधा भुसा धूलो भएर निस्कने गरेको छ,’ भजनी कृष्णनगरका फतेराम चौधरीले भने, ‘आफूसँग यही चामल खानुको विकल्प पनि छैन ।’ उब्रिएको केही धान बेच्न खोज्दा पनि कसैले नकिनेको उनको भनाइ छ । ‘अहिले किसानलाई गम्भीर समस्या पैदा भएको छ । सरकारको खाद्य कम्पनीले किसानको धान खरिद गरिदिनुपर्छ । नभए हामी झन् संकटमा पछौं,’ भजनी बजारका अर्का किसान बखतबहादुर साउदले भने, ‘हामीले धानको बीउ राख्दादेखि लागेको ऋणसमेत तिर्न सकेका छैनौं ।’
जिल्लाभरमा बेमौसमी वर्षाले साढे ४ अर्ब रुपैयाँको क्षति गरेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए । धान बालीमा ४० प्रतिशत पूर्ण र ४२ प्रतिशतमा आंशिक क्षति पुगेको उनको भनाइ छ । १८ प्रतिशत धान बाली भने बेमौसमी वर्षाअगावै किसानले भित्र्याइसकेको तथ्यांक संकलन भएको उनले जानकारी दिए । कैलालीमा यस वर्ष ७८ हजार हेक्टर जमिनमा धान खेती गरिएको थियो ।

इ-डटपेन 









