उत्पादकतत्व बढ्दो , उत्पादन क्षेत्र घटदो

भजनी, कैलाली — कैलालीको भजनी लालबोझीका शेरबहादुर चौधरी कुनै बेला १० बिघामा तोरी लगाउँथे । उनको १८/२० क्विन्टल तोरी फल्थ्यो । अहिले उनी एक बिघाजतिमा मात्रै तोरी लगाउँछन् । त्यसबाट दुई क्विन्टल जति फल्छ । उहिले उनी तोरी बेच्थे । अहिले आफ्ना लागि मात्रै लगाउने गरेका छन् ।

पहिलेको तुलनामा तोरीको उत्पादकत्व बढ्दा पनि उनले तोरी लगाउने क्षेत्रफल किन घटाए त ? उनीसँग दुई मुख्य कारण छन्, पहिलो बर्खामा खेत कम डुबानमा पर्थ्यो । असारमा लगाएको धानखेती भदौको अन्तिम सातातिर भित्र्याइन्थो । असोजमा लगाएको तोरी मंसिरमा पाकी सक्थ्यो । मंसिरमै गहुँबाली लगाउन मिल्थ्यो । तीनवटै मुख्यबाली खान पाउँथे ।

पछिल्लो दशक बर्खामा स्थानीय नदीको बाढी गाउ पस्न लाग्यो । बर्खा मौसम भदौमा पाकेको धान भित्र्याउन नपाइने भयो । किसानले साउनतिर रोपाइँ सुरु गरेर असोजमा धान पाक्ने गरी धानबाली भित्र्याउन सुरु गरे । अर्कोतिर बाढीले मुख्यबाली धानलाई बाढीले बर्सेनि क्षति गर्न सुरु गरेपछि खाद्य संकट नहोस् भनेर तोरी छोडेर गहुँबाली मात्रै लगाउन थाले ।

भजनी थापापुरका गंगा चौधरीको भनाइ भने तोरी लाग्ने जमिनमा तरकारी, केराखेतीतिर किसान आकर्षित भएर तोरी लगाउने जमिनको क्षेत्रफल घटेको बताए । ‘नगदेबालीका रूपमा तोरीले कम आम्दानी दिन सुरु गर्‍यो,’ उनले भने, ‘दोस्रो तोरीका लागि अग्लो सुक्खा जमिन चाहिन्छ । पछिल्ला वर्षमा बर्खाको बाढीले खेतमा कात्तिकसम्मै पानी जम्ने स्थिति सिर्जना पनि गरिदियो ।’

पन्ध्र/बीस वर्षअघि अहिलेको जस्तो कैलालीको दक्षिणी पूर्वी क्षेत्र डुबानमा पर्दैन्थ्यो । उनका अनुसार चुरे र वसन्ता जंगल विनाशको कारण स्थानीय खोलामा बाढी बढी आउने र गाउँ पस्न थाल्यो । यसले दक्षिणी पूर्वी क्षेत्र डुबानको विकराल समस्या आएको छ । बर्सेनि अहिले भजनीको थापापुर मोहनपुर, कृष्णनगर र लालबोझी क्षेत्रमा स्थानीय मोहना, कान्द्रा र काडा नदीको बाढी लाग्ने भएको छ ।

‘बाढी लाग्ने समस्याले तोरी लगाउने खेत पनि हिलाम्य भए,’ भजनी–३ का कलम चौधरीले भने, ‘बर्खामा बाढीले धान भित्र्याउनै नदिने भएपछि खाद्यबालीको रूपमा गहुँबाली मात्रै भयो । तोरी बेचेर घर खर्च चलाउनका लागि लगाइन्थ्यो । अहिले आफूलाई चाहिने जति मात्रै लगाउन थालेका हुन् ।’ उनले पनि आफ्नो १७ बिघा जग्गामा अहिले ५ कामा मात्रै तोरी र मसुरो लगाउने गरेका छन् ।

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख तथा बाली विज्ञ खगेन्द्रप्रसाद शर्माले तोरीको उत्पादकत्व बढे पनि उत्पादन क्षेत्रफल भने घट्दै गएको बताए ।

गत वर्षको उत्पादकत्व दर एकल तोरीबालीमा प्रतिहेक्टर १ दशमलव ५ टन छ । मिसाएर लगाएको तोरीबाली उत्पादकत्व दर १ दशमलव २५ टन प्रतिहेक्टर छ । केही वर्षअघिको तुलनामा कैलाली जिल्लाको तोरीको उत्पादकत्व दर बढेको तथ्यांकले देखाएको छ ।

‘नयाँ प्रविधि, मलजल र उन्नत बीउका कारण तोरीको उत्पादकत्व बढ्दै गएको हो,’ बाली विज्ञ शर्माले भने, ‘तर, उत्पादन क्षेत्र घटिरहेकाले सरकारले बजार, प्रविधि र डुबानको समस्याबाट खेतलाई मुक्त गर्ने व्यवस्था गरेर किसानलाई तोरीतर्फ पुनः आकर्षित गर्न सक्छ ।’

ज्ञान केन्द्रको तथ्यांकमा यो वर्ष कैलालीमा तोरीबाली एक्कल ६ हजार ६ सय ७७ हेक्टरमा मात्रै छ । मसुरोसँग मिसाएर तोरीबाली १२ हजार ३ सय ९८ हेक्टरमा छ । पछिल्ला वर्षमा सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा तोरीको उत्पादन क्षेत्र घटेकाले तोरी भारतबाट आयात बढेको समेत शर्माले जानकारी दिए ।