धनगढी — कञ्चनपुरको पुनर्वास नगरपालिका–११ रामजानकी टोलकी अस्तिनु चौधरीले तीन कठ्ठा जग्गामा मेन्था (तुलसी प्रजातिको बहुवर्षीय बिरुवा) जडिबुटी खेती लगाउन सुरु गरेकी छिन् । आफैले हुर्काएको गंगाजमुना सामुदायिक वनबाट आउने बन्यजन्तुले लगाएको धान र गहुँबाली खाइदिने दुःखले उनले मेन्था खेती सुरु गरेकी हुन् ।
बस्ती नजिकको मोहना जंगल फडानीले नदीको कटानबाट बढेपछि स्थानीय सामुदायिक वन बनाउन लागे । १० बर्षमा संरक्षित भएको मोहना बगर वन्यजन्तुको बासस्थान लायक बनेको छ । ‘पहिला संरक्षणमा ध्यान नपुग्दा भएको नदी छेउको जंगल नासियो,’ सामुदायिक वनकी अध्यक्ष समेत रहेकी अस्तिनुले भनिन्, ‘जंगल नभएर कटान र बाढीको समस्या भोग्न थाल्यौं, दाउरा घासको पनि दुःख भयो ।’
उनले अहिले आफूहरूले हुर्काएको वनबाट घाँस दाउरा सजिलो भएको बताइन् । ‘तर वनभित्र बढेका वन्यजन्तुले लगाएको धान गहुँवाली खाइ दिन लागे,’ उनले भनिन्, ‘आफ्नो किसानी कर्मलाई वन्यजन्तुले दुख्ख दिन थालेपछि जडीबुडी खेती तर्फ अकर्षित भएका हौं ।’ पछिल्लो समयमा मोहना–लालझाडी करिडोरसंग जोडिएका सवै सामुदायिक वनको विकास राम्रो भएको इलाका वन कार्यालय सव–डिभिजन कार्यालय कुन्डाका सहायक वन अधिकृत दिनेश यादवले बताए ।
‘मोहना लालझाडीको संरक्षणमा जुटेपछि स्थानीयले आफनो सामुदायिक वनको राम्रो बिकास भएको छ,’ यादवले भने, ‘राष्ट्रिय वन समेत जोगिएको छ ।’ यादवले पछिल्लो समयमा यस क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व भने बढेको बताए । हात्ती, बदेल, हरिण, निलगाईले परम्परागत खेती खाइदिन्छन् । कहिलेकाही बाघको आक्रमणमा समेत स्थानीय परेका छन् ।
लगाएको खेती खान जंगली जनावर बस्ती पस्ने भएकाले जंगलसंगै जोडिएका खेतमा स्थानीयलाई जडीबुडी खेतीतर्फ आकर्षित बनेको सहायक वन अधिकृत यादव बताउँछन् । मोहना लालझाडी सामुदायिक वन वनसँग जोडिएका अधिकांश सामुदायिक वनका उपाभोक्ताले मेन्था र केमाइल जडीबुटी लगाएका छन् । स्थानीयले ३ देखि १० कट्टासम्म खेती गरेको उनले बताए ।
तराई भू–परिधि कार्याक्रम (ताल) को सहयोगमा सामुदायिक वन समन्वय समिति मार्फत मोहना लालझाडी क्षेत्रका बासिन्दाका लागि जडिबुटी प्रशोधन केन्द्र तीन वटा समुदायिक वनका स्थापना भएका छन् । स्थानीयले मेन्था र केमाईलको उत्पादनलाई नजिकका प्रशोधन केन्द्रबाट तेल निकालेर व्यापारीलाई बेच्ने गरेका छन् । व्यापारीलाई स्थानीयसँग सम्पर्क गराई दिने काम समन्वय समितिले गरेको स्थानीय मानबहादुर चौधरीले बताए । गंगाजमुना सामुदायिक वनका पहिलो उपभोक्ता चौधरीले पुनर्वास नगरपालिका ११ मा जडीबुटी खेती सुरु गरे। उनी जडीबुटी प्रवर्द्धन कृषि सहकारी संस्थाका अध्यक्ष पनि छन् ।
‘कोरोना महामारी र लकडाउनपछि जडीबुटीको उचित मुल्य पाएका छैनौं,’ उनले भने,‘ गत बर्षको केमाइलको तेलको मूल्य नपाएर अहिलेसम्म बिक्री गर्न पाएका छैनौं ।’ उनले उचित मूल्य नपाएर कमाइल तेल विक्री नगर्दा बिग्रेको बताए । ‘गत वर्ष एक व्यापारीले ४० हजार प्रतिलिटरसम्म लिने गरी कुरा गर्न आएका थिए,’ उनले भने, ‘त्योभन्दा अघि ६० हजारसम्ममा बिक्री गरेकाले व्यापारीलाई सस्तोमा बेच्न सकिएन, पछि मूल्य पाएनौं ।’ केही किसानले २० हजारमा बिक्री गरे । सस्तोमा बिक्री नगर्नेले तेल घरमै राख्दा खेर गएको छ ।
मोहना लालझाडी सामुदायिक वन समन्वय समितिका अध्यक्ष राजबहादुर ऐरले केमाइलमा किसानले उचित मूल्य नपाउँदा अहिले मेन्था खेती बढी लगाउन थालेको बताए । अस्तिनु चौधरीले पनि मेन्था मात्रै लगाउन थालेकी हुन् । ११ नम्वर वडाको रामजानकी टोलमा मेन्था खेती गर्नेहरू सन्तुष्ट छन् । केमाइल खेतीबाट व्यहोर्नुपरेको घाटा मेन्थामा नहोस् भन्ने उनीहरूको चाहाना छ । अहिले मेन्था तेलको ५ देखि ६ हजारसम्म प्रति लिटर मुल्य पाइरहेका छन् । अस्तिनुले खेतीगत वर्षको पहिलो उत्पादनबाट निस्केको मेन्था तेलबाट ३० हजार आम्दानी गरेको बताइन् । ‘तीन महिनाको एक खेतीमा तिन पटकसम्म मेन्थाको उत्पदान गर्न सकिन्छ,’ उनले भनिन्, ‘त्यसबाट भएको आम्दानी परम्परागत धान र गहुँ बालीभन्दा बढी फाइदा दिने हुन्छ ।’
गंगा–जमुना साुमदायिकका ३३ जनाले मेन्था र केमाइल खेती सुरु गरेका छन् । जंगली जनावरले मन्था केमाईल खादैनन् । वन्यजन्तुबाट पीडित किसानलाई जडीबुडी खेती गर्न चाहेको अर्का स्थानीय दिनारामचौधरीले बताए । मोहना लालझाडी कोरिडोरअन्तर्गत मध्यवर्तीका किसान जडीबुटी खेतीतर्फ आकर्षित छन् ।

इडटपेन 


इ-डटपेन 






