धनगढी उपमहानगरको बजेट र निति तथा कार्यक्रम भित्र के छ ?

नगढी — धनगढी उपमहानगरपालिकाले ११औं नगरसभाबाट अगामी आर्थिक वर्ष २०८१–०८२को वार्षिक नीति तथा कार्यक्रमसँगै २ अर्ब रुपैयाँभन्दा बढीको बजेट  ल्याएको छ ।

मेयर गोपाल हमालले आफ्नो चुनावी नारा ‘हाम्र्रो धनगढी, हामी बनाउँछौँ’लाई नीति र कार्यक्रमको तेस्रो वर्ष पनि मूलमन्त्र बनाएको छ । उपमहानगरले अगामी आर्थिक वर्ष २०८१/०८२को लागि २ अर्ब १८ करोड ४२ लाख ३२ हजार २सय २० रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।

सोमबार मेयर गोपाल हमालले नीति तथा कार्यक्रम र उपमेयर कन्दकला रानाले बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत कुल बजेटमा चालुतर्फ १ अर्ब २० करोड १५ लाख ४४ हजार ११७ र पुँजीतर्फ९८ करोड २६ लाख ८८ हजार १०२ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ ।

मेयर हमालले आफ्नो कार्यकालको तेस्रो आर्थिक वर्षका नीति तथा कार्यक्रमभित्र पनि नयाँभन्दा अघिल्ला वर्षमा सुरु गरेका अधिकांश योजनालाई अझै प्रभावकारी ढंगले अघि बढाउने निति अख्तियार गरेका छन् । ‘हाम्रो धनगढी, सफा धनगढी’ लाई उच्च प्राथमिकतालाई राख्दै ‘बसोबासयोग्य हरित सहर, समृद्ध कल्याणकारी उपमहानगर’ बनाउने योजना रहेको बताइएको छ ।

त्यस्तै स्वास्थ्यका क्षेत्रमा मेयरले अफ्नो कार्यकालको पहिलो वर्ष पहिलो महिनाबाटै सुरु गरेको विशेषज्ञसहितको निःशुल्क घुम्ती स्वास्थ्य सेवालाई निरन्तरता दिएको छ । ‘एक वडा, एक एम्बुलेन्स’ अघिल्लो वर्षकै कार्यक्रमलाई थप प्रभावकारी बनाउने भनिएको छ ।

बजेटमा ‘सफा उपमहानगर, स्वास्थ्य जनता, गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता’ लाई आत्मसात गर्दै आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने कुरा उल्लेख छ । ‘हाम्रो चाहना, नगरवासीको सुस्वास्थयको कामना’ नाराअन्तर्गत ‘एक घर, ५ योग, ५ जडिबुटी’ र ‘स्वस्थ जीवनशैली, आहारविहार भन्सारघर पहिलो अस्पताल’को अवधारण लागू गरिने कुरा उल्लेख छ ।

कान्तिपुर सभार