धनगढीका सामुदायिक विद्यालयमा ४५ सय फलफूलका बिरुवा रोपिदै

धनगढी- धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा फलफूलका बिरुवा रोप्ने अभियान थालेको छ। उपमहानगरले विद्यालय फलफूल संरक्षण प्रवर्द्धन कार्यक्रमू अन्तर्गत यो वर्ष ५१ सामुदायिक विद्यालयमा बिरुवा रोप्न सुरू गरेको हो। मङ्गलवारबाट बिरुवा रोप्न थालिएको हो। मङ्गलवार १६ सामुदायिक विद्यालयमा एक हजार ५२५ बिरुवा रोपिएको नगर प्रमुख गोपाल हमालले बताएका छन्।
उपमहानगरले शिक्षा महाशाखाका प्राविधिक सहायक केशव खत्रीलाई सामुदायिक विद्यालयमा बिरुवा रोप्ने कार्यक्रमको जिम्मेवारी दिएको छ। जसअनुसार धनगढीका ६८ सामुदायिक विद्यालय मध्ये पर्खाल भएका ५१ विद्यालयमा कति बिरुवा रोप्न सकिन्छ भन्ने स्टिमेट निकालेर विद्यालयहरूलाई फलफूलको बिरुवा वितरण गरिन लागेको हो।
विद्यालयमा आँप र अम्बा रोपिदै छन्।
धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा आँप, अम्बा र लिचीका बिरुवा वितरण गरेको छ। विद्यालयमा बिरुवा रोपेर संरक्षण गर्न सजिलो हुने र फल्न थालेपछि बालबालिकाहरूलाई नै खान दिने उद्देश्यले फलफूलका बिरुवा रोप्ने योजना बनाइएको नगर प्रमुख गोपाल हमालले बताए। पर्यावरणको संरक्षण गर्न र बालबालिकाहरूलाई खान दिने हिसाबले फलफूल रोप्न लागेको नगर प्रमुख हमालले बताए।

विद्यालयमा रोपेका बिरुवा हुर्काउन विद्यालयहरूले विद्यार्थीहरूलाई जिम्मेवारी दिने बताएका छन्। रोपिएका बिरुवामा पानी हाल्ने, गोडमेल गर्ने र संरक्षण गर्ने दायित्व इको क्लबका विद्यार्थीको जिम्मा लगाएर हरेक बिरुवाको संरक्षण गरिने भएको छ।

बिरुवा रोप्नु मात्रै ठुलो कुरा नभएर तिनको संरक्षण गर्नु महत्त्वपूर्ण कुरा भएको नगर प्रमुख हमालले बताएका छन्। विद्यालय तथा अन्य सार्वजनिक ठाउँमा रोपिएका बिरुवाको संरक्षण गर्न सबैले लाग्नुपर्ने हमालले बताएका छन्।