संकटमा बाघको अन्तिम घर

धनगढी) पुर्व रौतहटको बागमती र पश्चिम महाकाली किनारको शुक्लाफाटा सम्मको भु–परिधि लोपोन्मुख एक सिंगे गैडा र पाटेबाघको ‘अन्तिम घर’ मानिन्छ । बिश्व बन्यजन्तु कोष (डब्लुडब्लुएफ) र संरक्षणकर्मीहरुले चेतावनी दिएका छन्, ‘यो अन्तिम घर पनि बचाउन सकिएन भने भावी पुस्ताले एक सिंगे गैडा र बाघ तस्विरमा मात्र देख्न पाउनेछन् । डाइनोसरकै कथा दोहोरिनेछ ।’

तस्विर फाईल सौजन्य तिलक ढकाल

एक सिंगे गैडा नेपालमा मात्रै पाईन्छ । पाटे बाघ नेपाल र भारतमा थोरै संख्यामा छ । बाघ र गैडाको यो अन्तिम घर भित्रै बसेको नेपालको ८० लाख जनसंख्याको मानविय क्रियाकलापले संकट गहरिदै गएको छ । वन्यजन्तुको अन्तिम घर संगै चुरे र तराईको वनजंगल बिनासले मानिसको बासस्थान पनि उजाड मरुभुमीमा प्ररिणत हुने खतरा औल्याउछन, बिज्ञहरु । लामो समय डब्लुडब्लुएफमा काम गरेका संरक्षणबिद् तिलक ढकाल भन्छन्, ‘बाघ, गैडा र हात्ती जस्ता ठुला वन्यजन्तुको ओहोेरदोहर गर्ने बाटाका बस्तीले अवरोध पुगाएको छ । जैविक मार्गको पुर्ननिर्माणनैं संरक्षणमा ठुलो चुनौती छ ।’

तराई भु परिधिको नेपाल भारतकोे वन्यजन्तु ओहोरदोहोर गर्ने नक्सा । तस्विर फाईल सौजन्य तिलक ढकाल

भारतको जिम कर्बेट देखि बागमती किनारसम्मको भु– परिधिको संरक्षण, सम्र्वद्धन र सुरक्षाबाट मात्र बिश्वबाट लोप भइरहेका पाटेबाघ र एक सिंगे गैडाको अन्तिम घर बलियो बन्न सक्ने बताउछन्, संरक्षणबिद् ढकाल । उनी भन्छन्, ‘बाघ र गैंडाको बचेको यो अन्तिम घर भित्र मानिसले पनि आफ्नो घर बनाउनु छ, त्यसैले एकले अर्काको घरको शान्ति सुरक्षालाई खलल नपुगाइ मिलेर बस्ने हो । यसबाट वन्यजन्तु र मानव दुवैको भावी पुस्ता समेत सुरक्षित हुनेछ ।’

बर्दिया राष्ट्रिय निकुञ्जको बाघ देखिने क्षेत्र

यो परिधिमा हालैको गणनाले बाघ २ सय ३५ र एकसिंगे गैडा ६ सय ४५ को संख्यामा भेटिएका छन । जसमध्ये बाघ बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, चितवन राष्ट्रिय निकुञ्जमा ९३ , बाके निकुञ्जमा २१ , पर्सा १६ र शुक्लाफा“टा निकुन्मा .१६छन् । एक सिंगे गैडाको संख्या भने चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बढी छ । यहा“ मात्रै ६ सय बढी गैडा गणना गरिएको छ । बर्दिया र शुक्लाफाटामा त्यहीबाट स्थानान्तरण गरिएका ४५ वटा एकसिंगै गैडा रहेका छन् ।
बाघ बिशेषज्ञ कञ्चन थापाले नेपालमा ओभरअल’ बाघको ‘ग्रोथ’ भईरहेको बताए । पश्चिम परिधिमा अझ राम्रो देखिएको बाघ उनी बताउछन । ‘बर्दिया कम्लेक्समा पछिल्लो समयमा बाघको संख्यामा बृद्धि भएको छ’ बाघ बिज्ञ कञ्चन थापाले भने, ‘ बासस्थान सुधार भएको छ ।’उनले बाघलाई चाहिने सुरक्षित बासस्थान र पानी भएको बताए । बर्दिया कम्लेक्समा बर्दिया र शुक्लाफाटा राष्ट्रिय निकुञ्ज बीचको बर्दियाको खाता, कैलालीको कर्णाली, बसन्ता, कञ्चनपुरको लालझाडी मोहना जैविक मार्गमा पर्ने संरक्षित, सामुदायिक र चुरे वन क्षेत्र पर्छन । उक्त जैविक मार्गलाई भारतको लक्काबग्गा, दुदुवा नेशनल पार्क, कतरिनियाघाट वाइल्ड लाईफ सेन्चुरीले जोडेको छ । ‘नेपाल र भारतको यो परिधि बाघको राम्रो सर्किट बनेको छ,’ थापाले भने्, ‘यो परिधिमा जैविक मार्गको सुधार हुदै जानु हो ।’ उनका अनुसार यो परिधिमा बाघ–बघिनी रमाइरहेका हुन्छन । कहिले नेपालको बाघ भारत तिर जान्छ । कहिले त्यहाको बाघ नेपाली जंगलमा देखिन्छन ।

केहि महिना अघि भारतको दुदुवा नेशनल पार्कको ‘रेडियो कलर’ जडित बाघ कैलालीको बसन्ता जैविक मार्गबाट चुरेफेद चहार्दै लालझाडी मोहना कोरिडोर हुदै फिर्ता गएको बताउछन्, उनी । उक्त बाघको नेपाल घुमफिर करिव ३ महिना लामो थियो । बन्यजन्तुको कुनै राष्ट्रियता हुदैंन । वन्यजन्तुका लागि दुवै देशले बर्डर खुला र सुरक्षित राख्नु थापाको भनाई छ ।
गैडाले लामो यात्रा तय गर्दैन । तर, उसको अनुकुलको सुरक्षित बाससस्थान हुनु आवश्यक छ । सुरक्षित बासस्थान निर्माण गर्न नसकेकै कारण गैडा मारिएका उदाहरण धेरै छन् । बाघ र हात्तीका लागि भने पुर्व रौतहट देखि शुक्लाफा“टा सम्मको जैविक मार्गको कनेक्टिभिटी हुन आवश्यक रहेको बताउछन्, संरक्षणबिद् ढकाल । भन्छन्, ‘हात्तीले लामो सफर तय गर्छ । अर्काेतिर हात्ती आफ्नो परम्परागत बाटोमा मात्र हिड्छ । अहिले हात्तीको परम्परागत मार्गमा बस्ती बसेको छ । त्यसैले हात्तीहरुले घर–वस्तीमा आतंक मच्चाइरहेका छन ।’
कञ्चनपुरको बम्हदेव, लालझाडी–मोहना, कैलालीको बसन्ता र कर्णाली बर्दियाको खाता कोरिडोरलाई अझ बढी ब्यवस्थित र संरक्षण गर्नु आबश्यक छ । ढकाल भन्छन्, ‘पश्चिम नेपालको परिधिमा घुम्ने बाघ पुर्व रौतहटको बागमती किनार सम्म पुग्न सकोस । त्यसपछि बाघ लगायत बन्यजन्तुको बंशानुगत बिकासले गति लिनेछ ।’

कैलालीको मोहना लालझाडी जैविक मार्गको चुरे संग जोडिएको क्षेत्र । अहिले यहा सुदूरपश्चिम प्रदेशको राजधानी बनाउने निर्णयले बन्यजन्तुको ओहोरदोहोर गर्ने मार्ग अवरोध हुने संरक्षणकर्मिको चिन्ता । तस्विर मोहन बुढाऐर )

बिश्व बन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले नेपाल र भारतको यो भु–परिधिलाई जोड्न दुवै देशका सरकारसंग मिलेर तराई भु–परिधि कार्यक्रम (ताल) मार्फत आर्थिक र प्राविधिक रुपमा ठुलो लगानी पनि गरिरहेको छ । उक्त कार्यक्रमका प्रवन्धक तथा उप–सचिव पुर्णेश्वर सुवेदी तालको पहिलो उद्देश्य यो परिधिमा मानिस र जनावर दुवैको घर सुरक्षित बनाउनुनैं रहेको बताउछन । उनका अनुसार यस क्षेत्रमा पर्ने राष्ट्रिय निकुञ्ज, संरक्षित तथा आरक्षित वन, सामुदायिक र राष्ट्रिय वनलाई जोड्दै सुरक्षित जैविक मार्गको निर्माण र सुरक्षित जैविकमार्गका बन्यजन्तु देखाएर ‘ईको टुरिज्म’ लगायत संरक्षणमुखी कार्यक्रम संचालन भइरहेका छन् ।
सुबेदी भन्छन्, ‘मध्यवर्ति क्षेत्रका बासिन्दाको जिवनस्तरमा सुधार ल्याउन कार्यक्रम चलाइरहेका छौं ।’ दक्षिण तर्फको भारतको सुहेलवा र बाल्मिकी टाईगर रिजर्ब क्षेत्रलाइ जोड्ने बा“केको कम्दी , दाङ–राप्ती र चितवनको बरण्डाबार कोरिडोर निर्माणमा पनि तालले काम गरिरहेको छ ।

कैलालीको बसन्ता जैविक मार्ग अतिक्रमणको चपेटमा तस्विर मोहन बुढाऐर

तर मोहना कोरिडोरको कञ्चनपुरको डोके बजार क्षेत्रबाट र बसन्ताको हसुलिया क्षेत्रबाट जंगल मानव आवादीले टुक्रिएको स्थानीय संरक्षणकर्मि बिजय श्रेष्ठ बताउछन । त्यस्तै कर्णाली कोरिडोर क्षेत्र पनि संकटमा छ । बातावरण बिज्ञानका इन्जिनियर प्रसन्न कर्मचार्यले जंगल क्षेत्रबाट भइरहेको सडक, सिचाई लगायतका बिकास निर्माणको कामले वन्यजन्तुको बासस्थानलाई असर पुगिरहेको बताउछन । भन्छन्, ‘वन्यजन्तु तथा बतावरण मैत्री पुर्वाधार निर्माण हुनु आवश्यक छ । वन्यजन्तुको ओहोरदोहोर गर्ने बाटामा बिकासले उनीहरुको ‘लाइफ डिस्र्टव’ भइरहेको छ ।’नोट पत्रकार मोहन बुडाऐरले तयार पारेको केहि समय अघि नेपाल म्यागेजनमा प्रकाशित भई सकेको स्टोरीको अंशबाट