धनगढी-सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार प्रदेश सभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन् । शुक्रवारै प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न संविधानको धारा १६८ को २ बमोजिम आह्वान गरेका छन । उक्त धारामा दुई या दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको अवधि तोकिएको छ ।नयाँ मुख्यमन्त्री नियुक्त नभएसम्म सोडारीलाई नै कामचलाउ तोकिएको छ ।
मुख्यमन्त्री सोडारीको अनुरोधमा विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयले प्रदेश सभा बैठकको कार्यसूची निर्धारण गरेको थियो । तर सोडारीले मन्तब्यका क्रममा विश्वासको मत विभाजनमा नगई मार्ग प्रशस्त गरेको घोषणा गरेका हुन् ।
एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी ९रंजिता श्रेष्ठ समुह० र एक जना स्वतन्त्र सांसदको समर्थनमा बैशाख ६ गते मुख्यमन्त्री नियूक्त भएका एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी १ सय ५ दिन मात्रै मुख्य मन्त्री पदमा बसे ।
बजेट पारित हुनु अगावै अल्पमतमा परेका सोडारीले अध्यादेश मार्फत पनि
बजेट ल्याउन नसक्दा सुदूरपश्चिम सरकार बजेट शुन्यताको अवस्थामा जान पुुगेको छ । प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले उत्कृष्ट नीति तथा कार्यक्रम र बजेट ल्याएको भन्दै नेकपा एमालेले नै बजेट पारित गर्न सहयोग नगर्दा प्रदेशमा बजेट शून्यताको अवस्थामा पुुगेको बताए । उनले बजेट शुन्यतामा जानुमा प्रदेश सभाका सबै दल जिम्मेवार रहेको समेत बताए।
‘उनले सरकारले प्रदेश सभा अन्त्य गरेको पाँच दिनपछि मात्रै प्रदेश प्रमुखले स्वीकृत गरेको बताए । ‘सभा अन्त्य भएको पत्र सँगसँगै अर्को चिठी आयो विशेष अधिवेशनको, यो पटक संसारमै नभएको जात्रा देखियो’ उनले भने । उनले प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले सत्ता पक्ष र प्रतिपक्ष जहाँ भए पनि जनताका एजेन्डा उठाउन प्रतिबद्ध रहेको बताएका छन्।

इ-डटपेन 









