सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ , १० सदस्यीय मन्त्रिपरिषद्

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुखले आइतबार नियुक्त गरेका थिए ।शाह ले आफनो शपथ सँगै ६ जना मन्त्री र तीन जना राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन ।
शाहको १० सदस्यीय मन्त्रिपरिषद्मा नेपाली कांग्रेस, एमाले र नागरिक उन्मुक्तिले सत्ता साझेदारी गरेका छन् । नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालय र दुई जना राज्यमन्त्री, नेकपा एमालेले तीन मन्त्रालय र एक जना राज्यमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाएका छन् ।

नेपाली कांग्रेसले आर्थिक मामिला मन्त्रालयमा कञ्चनपुरका बहादुरसिंह थापा, सामाजिक विकास मन्त्रीमा अछामका मेघराज खड्का नियुक्त गरेको छ भने कैलालीका प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र डडेलधुराकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन् ।नेकपा एमालेबाट बैतडीका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार, भूमि व्यवस्था कृषि तथा सहकारीमा कञ्चनपुरका वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कञ्चनपुरकै हिरा सार्की नियुक्त भएका छन् ।

डोटीकी निर्मला साउँद भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्री नियुक्त भएकी छिन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी कैलालीका हुन् ।