थारु बस्तीमा‘गुरही’ पर्वको उल्लास

धनगढी– श्रावण २५ शुक्ल पंचमीका दिन पश्चिम तराईका आदिवासी थारु समुदायको बिशेष पर्व ‘गुरही’ले थारु बस्तीमा रौनक छाएको छ ।

तस्विर फाईल

गाउँघरबाट रोगव्याधी हट्ने र शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ तीमागुरही पर्वको उल्लास दाजुभाई बहिनीहरु बीचमा माया प्रेम स्नेहको सम्वन्धलाई अझ बढी प्रगाड गर्ने गरि खुसी बाढिने गरिएको छ ।

पछिल्लो समय गुरही पर्व औपचारिक रूपमा मनाउन पनि थालिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका ८ क्याम्पस रोडस्थित गुरही चौकमा भव्य रूपमा गुरही कार्यक्रमको आयोजना गर्ने गरिएको छ ।
थारु बहुल क्षेत्रस्थित स्थानीय तहहरूले सार्वजनिक बिदा दिएका छन् । कैलालीको धनगढी उप महानगरपालिका सहित कलारी गाउँपालिका, जोशीपुर गाउँपालिकालगायत पालिकाहरूले सार्वजनिक बिदा दिएका हुन् ।

विशेषगरी पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका थारुका बस्ती बस्तीमा मनाइने गरिएको छ ।
वस्तवमा थारु भाषामा गुरही भनेको एक किसिमको गाइने किरा हो । यो पर्वमा कसैले गुरही–गुरहा, कसैले केटी–केटा वा दुलहा–दुलहीको प्रतीकको रूपमा कपडाको पुतला, खेलौना बनाउँछन् । थारु बसोबास रहेका कतिपय स्थानमा यसलाई  गुरिया पर्व भन्ने पनि गरिन्छ ।
यस दिन थारु समुदायका घरहरूमा खुर्मा, बरिया पुरी जस्ता  तेलमा पकाइने परिकार पकाइने गरिन्छ । घर–घरमा घुघरी चना, केराउ, मटरा, मकैको भुजा तयार गरिन्छ ।  केटी र महिलाहरूले कपडाका रङ्गीचङ्गी टुक्रा चिरकुटबाट पुतला बनाउने गर्दछन् ।
कसैले ती पुतलालाई गुरही गाइने कीरा मानी पिट्ने गर्दछन् भने कसैले बहिनीका अवगुण मानी पिट्ने गर्दछन् । पुतला पिट्ने सोंटा, कोर्रा रारा र मूँज ढकिया बनाउँदा प्रयोग गरिने सामग्रीको प्रयोगले सुन्दर, रङ्गीचङ्गी बनाइएको हुन्छ ।
सूर्यास्त हुने बेलातिर युवती तथा महिलाहरु गुडिया गुरिया र घुघरी लिई आफ्नो भेषभूषामा सजिएर चौबाटो र चौराहामा पुग्छन् ।
केटा र पुरुषहरू पनि आफ्नो भेषभूषामा सोंटा, कोर्रा लिई चौराहा चौबाटो पुग्छन् । केटीहरु तथा महिलाहरु गुरिया गुरही चौराहामा फाल्छन् र केटाहरू तथा पुरुषहरू सोंटा, कोर्राले पिट्छन् ।
केटीहरु गुरिया गुरही फाल्ने बेला र केटाहरू पिट्ने बेलामा रोगब्याध नलागोस, आफूमा भएको अवगुण जाओस् भनी कामना गर्दछन् । पिटिसकेपछि केटा वा पुरुषले केटी वा महिलासँग घुघरी माग्छन् र प्रसादस्वरुप ग्रहण गर्दछन् ।
कतिपय गाउँमा पिटिएका यी गुरिया गुरहीसडकमै चौराहामै छोडेर हिँडिन्छ भने कतिपय गाउँमा बाजागाजाका साथ नदीमा सेलाउन पनि लाने गरिन्छ ।
यो पर्व बालबालिकाको सहभागिताबिना अपूर्ण मानिन्छ । त्यसैले यसमा उनीहरूलाई सहभागी गराउनु अभिभावकहरू आफ्नो कर्तव्य ठान्छन् । कतिपय अभिभावक उनीहरूलाई बोकेरै सहभागी पनि गराउने गर्दछन् ।