पिडित महिलालाई न्याय दिनमा ढिलाई

धनगढी – कैलालीको भजनी नगरपालिकामा एक महिलालाई बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरिएको घटनाका दोसीलाई कार्वाहिको दायारामा ल्याउन ढिलाइ भएको छ । प्रहरी प्रशासनले दोसी देखिएका पिडक पक्ष सवैलाई प्रहरी कठगरामा उभ्याउन सकेको छैन ।
भजनी नगरपालिका वडामा स्थानिय पुुरुषहरुको एक समूहले पुस ४ गते दिउँसो ३ बजे नै ३० वर्षीया एक महिलालाई घरबाट कपाल तान्दै घिसारेर लगेर मरणासन्न हुने गरी कुटपिट गरेको घटना बाहिरिएको थियो ।
कुटपिटबाट अचेत भएपछि उनलाई त्यही दिन बेलुका ५ बजे आफन्तजनले भजनी नगरपालिकाको स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ उपचार हुन नसकेपछि उनलाई धनगढी रिफर गरिएको थियो । त्यसपछि मात्रै घटना बाहिररिन पुुगेको हो ।
अहिले उनको धनगढीस्थित नवजीवन अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उनको उपचार भइरहेको छ । उनको होस आएपनि उनी शरीरिक र मानसिक रुपमा विक्षिप्त बनेकी छिन् ।
उपचारमा संलग्न अस्पतालका डाक्टर विदुरमणि ढकालले कुटपिटले मांसपेशीमा नराम्रोसँग असर परेको बताएका छन । रगतमा इन्फेक्शन पनि हुन सक्ने र मुटुमा असर पुग्न सक्ने भएकाले केही दिन निगरानीमा राखेको डाक्टर ढकालले जानकारी दिए ।
पीडित महिलाकी आमाका अनुसार गाउँकै भलमन्सा लालबहादुर चौधरी र गुरुवाको आदेशमा गाउँलेहरुले मिलेर बोक्सी भन्दै कुटेको आरोप छ ।
यसअघि पनि उनलाई बोक्सी भनेर कुटपिट गरिएको उनका परिवारजनले बताएका छन । त्यति वेला सहेर बसेकी उनलाई पुनः निर्घात कुटपिट गरिएको उनकी आमाले दुखेसो सुनाइन् ।
उनीकी आमाले भनिन्, “गाउँलेहरू पुस १ गते राति घरमा आए । राति ८ बजे आएका गाउँलेले घरमै कुटपिट गरेका थिए । गाउँलेहरुले ‘म बोक्सी हुँ, गल्ती गरें, माफ गर’ भन्न लगाएका थिए । तर छोरीले ‘म बोक्सी होइन, किन माफी माग्ने’ भनेपछि कुटपिट गरे ।”
गाउँलेहरूले लाठी र खुट्टाले निर्घात कुटपिट गरेको उनकी आमाले बताएकी छिन् । उनको शरीरभरि नीलडाम रहेको अस्पतालले जनाएको छ । मारिदिने भन्दै कोदालोले हिर्काउँदा उनी बेहोश भएको उनकी आमाले पिरलो सुनाइन् ।
बेहोस भएपछि बचाउन गएका उनका भाइलाई गाउँले कुटपिट गरेका छन् । यहाँसम्म कि बोक्सीको सन्तानलाई सिध्याउनुपर्छ भन्दै गाउँलेहरुले उनका साना छोरालाई समेत कुटपिट गरेको बताएका छन् ।
पीडित महिलाका पाँच र दुई वर्षका दुई छोरा छन् । उनका श्रीमान् रोजगारीका लागि भारतमा छन् । आर्थिक अवस्था कमजोर भएकाले बोक्सी भन्दै हेप्ने गरेको आफन्तले बताएका छन् ।
घटना घटेको एक साता बित्नै लाग्दा समेत प्रहरी प्रशासन भने पीडकलाई जोगाउन उद्दत देखिएको पिडित पक्षको गुुनासो छ । प्रहरीले उल्टै पीडककै पक्ष लिएको पीडितको दुखेसो छ ।
कुटपिटमा संलग्न ६ जना विरुद्ध पीडितका परिवारजनले प्रहरीमा किटानी जाहेरी दिएका छन् । उनीहरूमध्ये चार जनालाई पक्राउ गरिएका र दुई जनालाई अझै नियन्त्रणमा लिएको छैन ।
इलाका प्रहरी कार्यालय भजनीका प्रमुख तथा प्रहरी निरीक्षक युवन चौधरीका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा लाहनु चौधरी, मनोज चौधरी, रूपा चौधरी र बाबुराम चौधरी पक्राउ परेका छन् । किटानी जाहेरी परेका जयराम चौधरी र करन चौधरीलाई अझै नगरेको हो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक चौधरीको भनाइ छ ।
बोक्सीको आरोप (कसूर र सजाय ऐन) २०७२ को दफा ११ को उपदफा (ङ)मा पाँचदेखि आठ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान रहेको छ ।
यसैविच अधिकारवादी संघ संस्थाहरुले पीडकलाई कानुन बमोजिम हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका छन् ।
थारु कल्याणकारिणी सभा कैलालीका पूर्व सभापति माधव थारुले पीडितको स्वास्थ्य उपचार र समाजमा सम्मानपूर्वक जीवन जिउने अधिकार राज्यले प्रत्याभूत गर्नुपर्ने बताँछन् । उनले दोषीलाई हदैसम्मको कारवाही हुनुपर्नेमा जोड दिए ।
महिला पुनस्र्थापना केन्द्र (ओरेक)का कैलाली जिल्ला संयोजक गीता चौधरीले उनको स्वास्थ्य अवस्था अझै सुधार हुन नसकेको बताइन् । उपचारकै क्रममा रहेको बताउँदै उनले सामाजिक तिरिष्कारले उनी मानसिक रुपमा विक्षिप्त रहेकोलेले त्यसतर्फ सबैको ध्यान जानुपर्ने उल्लेख गरिन् ।