मानवसेवाआश्रम लागि सप्ताह महायज्ञ सुरु

धनगढी – कैलालीको धनगढीमा  माघ २३देखि श्रीमदभागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु भएको छ । मानव सेवा आश्रमले आफ्नै भवन निर्माण सम्पन्न गर्ने उद्देश्यले सप्ताहव्यापी ज्ञान विज्ञान महायज्ञ सुरु गरेको हो ।

मानवसेवाआश्रम सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले आजदेखि सुरू भएको श्रीमद भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञको समुद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गर्नुभएको छ ।

त्यसक्रममा उनले सत्कर्ममा लागेका व्यक्ति, संस्थालाई प्रदेश सरकारले सहयोग गर्ने बताए । वृद्धवृद्धा र सहाराविहीनलाई सहारा दिनका लागि भवन निर्माणार्थ आयोजित महायज्ञको पूर्ण सफलताको कामना गर्दै उनले भने  , “सबै काम सरकारले नगर्न सक्छ, गर्न नसकिएको काममा सत्कर्ममा लागेका तपाईंहरूजस्ता निःस्वार्थ भावना भएका सङ्घ संस्थाहरू जोडिनु पर्दछ भन्ने प्रदेश सरकारको मान्यता छ ।”

महायज्ञ उदघाटनसत्रमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, प्रदेशसभा सदस्य धर्मराज पाठक, धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला रानाथारू लगायतले शुभकामना मनत्ब्य ब्यक्त गरेका थिए ।

महायज्ञको उद्घाटन अघि बिहान १० बजेदेखि बाजागाजा, सांस्कृतिक झाँकीसहित शिवपुरीधामबाट सुरू भएको कलशयात्रा धनगढी चौराह, मेनरोड, अस्पताल लाइन हुँदै पशुपति टोल महायज्ञ हुने स्थलमा ११ः३० पुगेर समापन भएको हो ।

महायज्ञमा निःशुल्क रूपमा योग शिविर सञ्चालन हुने भएको छ । योग शिविरमा प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म पतञ्जलि योग पीठका केन्द्रीय प्रभारी लवदेव मिश्रले योग प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

महायज्ञमा  वरिष्ठ हास्य कलाकार मनोज गजुरेल बोलाउने कार्यक्रम समेत छ  । धनगढी१ पशुपति टोलमा सुरू भएको महायज्ञमा बिहीबार कलाकार गजुरेलले आफ्नो प्रस्तुति राख्नुहुने कार्यक्रम तय भएको आश्रमले जनाएको छ ।

विद्यार्थी माझ सकारात्मक सोच, मानवता प्रवर्द्धन एवं व्यवहारिक शैक्षिक ज्ञान कार्यक्रमहरू २ सेसनमा बिहान साँढे ७ बजे देखि साँढे ९ बजेसम्म र बिहान १० बजे देखि ११ बजे सम्म हुने छन् । महायज्ञमा २४ गतेबाट ३० गते सम्म हरेक दिन भाष्कर कमलनयन गौतमको मुखारविन्दबाट बिहान साँढे ११ बजेदेखि साँढे ४ बजेसम्म संगीतमय श्रीमद भागवत कथा वाचन हुनेछ ।

साथै हरेक दिन साँझ ६ः०० बजेदेखि राष्ट्रिय र स्थानीय कलाकारहरूद्वारा भजन, कीर्तन र नृत्य कार्यक्रम रहनेछ । ख्यातिप्राप्त कलाकारहरूबाट गीत, संगीत, भजन, कीर्तन, झाँकी, देव लीला, नृत्यहरू आयोजना हुनेछ । हरेक दिन महायज्ञमा पाञ्चायन पूजा, लक्ष्य वर्तिका, पितृ उद्धार, धान्याञ्चल, तुला दान, ग्रहशान्ति,८४ पूजा, महामृत्युञ्जय, जप,पाठ परायण लगायतका कार्यक्रम हुने महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश स्तरियता मानवीय मन्दिर भवन धनगढी उपमहानगर १५ उर्मीमा २ विगाह जग्गामा निर्माण सुरु भइसकेको छ । यसलाई सम्पन्न गर्नका लागि आर्थिक संकलन र सद्भावनाका लागि महायज्ञ आयोजना गरिएको आश्रमका अध्यक्ष अधिकारीको भनाई छ । आश्रमको भवन निर्माणका लागि १५ करोड रुपैयाँभन्दा बढी लाग्ने र महायज्ञबाट ५ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश, कैलाली, धनगढी शाखाको २०७५ साल मंसिर १ गते धनगढी – ५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ भएको हो । शाखाले हालसम्म ३ सय ८८ जना भन्दा बढी बेसहारा, असहाय, अभिभावकविहीन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ । सेवाको स्थायित्वको लागि मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश धनगढी शाखाको आफनै भवन निर्माण गर्ने लक्ष्य राखी श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ को आयोजना गर्न लागिएको हो । यस पुण्य कार्यमा सुदूरपश्चिम प्रदेशका सबै मानवता प्रेमी मनहरूलाई महायज्ञमा सरिक हुन मानवसेवा आश्रमले अनुरोध गरेको छ ।