प्रतियोगिताको अपराजित अत्तरिया अर्जुन ट्रफीको च्याम्पीयन

धनगढी-सिवाईसी अत्तरियाले क्रिकेटको शहर धनगढीमा भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । गो ड्रिर्मसको आयोजनामा भएको प्रतियोगिताको फाईनलमा फेण्ड्स क्लब डडेल्धुरालाई हराउँदै अत्तरिया प्रतियोगिताको पहिलो संस्करणको च्याम्पीयन बनेको छ । अत्तरिया प्रतियोगिताभर अपराजित रहदै च्याम्पियन बनेको हो । धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको विजेता रहेको सिवाईसी अत्तरियाले डडेल्धुरालाई ३४ रनले हराउँदै नगद १० लाख सहित ट्रफी प्राप्त गरेको छ । उपविजेता बनेको डडेल्धुराले नगद ५ लाख सहित ट्रफीमा चित्त बुझाएको छ ।

फाईनलमा अत्तरियाले दिएको एक सय १९ रनको लक्ष्य पछ्याएको डडेल्धुरा १८ ओभरमा ८४ रनमा समेटियो । डडेल्धुराका लागि गजेन्द्र बोहराले २४, कुशल भुर्तेलले २० र अशोक धामीले ११ रन बनाए । डडेल्धुराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अत्तरियाका शहाव आलम र दिपेश कडेलले तीन–तीन विकेट लिए । कमल गुप्ता र विवेक यादवले दुई–दुई विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १८ रन बनाएको थियो । अत्तरियाका लागि रसिद खानले ३१ रन बनाए । यस्तै, सन्तोष कार्की र शंकर रानाले समान २०–२०, सन्दीप क्षेत्रीले १२, विवेक यादवले ११ र भीम सार्कीले १० रन बनाए । डडेल्धुराका लागि अभिषेक गौतमले चार विकेट लिए । यस्तै अजय चौहान र कुशल भुर्तेलले एक–एक विकेट लिए । अत्तरियाका तीन खेलाडी रन आउट भएका थिए । अत्तरियाका साहव आलम नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।


प्रतियोगिताका विजयी खेलाडीहरुलाई परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवा लगायतले पुरस्कार वितरण गरे । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री देउवाले फाप्लालाई अन्तराष्ट्रियस्तरको मैदान बनाउनका लागि पहल गर्ने र त्यसको बारेमा छिट्टै कुरा गर्ने बताईन् । उनले सुदुरपश्चिम क्रिकेटको भुमीको रुपमा विकास भईरहेको भन्दै क्रिकेटमा लगानी बढाउनुपर्ने बताईन् ।

विवेक यादव भए अर्जुन ट्रफीको उत्कृष्ट खेलाडी,

भुर्तेल उत्कृष्ट बलर र ब्याट्सम्यानसिवाईसी अत्तरियाका विवेक यादव

कैलालीको धनगढीमा भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडी भएका छन । यादवको उत्कृष्ट प्रदर्शनको मदत्तले अत्तरिया प्रतियोगिताको च्याम्पियन भएको थियो । प्रतियोगिताभर उनले एक सय ५२ रन बनाए भने १० विकेट लिए । उनले नगद एक लाख सहित ट्रफी पाए ।
यस्तै उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान डडेल्धुराका कुशल भुर्तेल भए ।

उनले पाँच खेलमा १३ विकेट लिएका थिए । एक सय ६८ रन बनाएका थिए । उनले पनि एक लाख नगद सहित ट्रफी पाए । यस्तै प्रतियोगितामा उदयमान खेलाडी भने डिसीए धनगढीका हिक्मत महरा भए ।

उनले नगद ५० हजार सहित ट्रफी पाए । सोमबार भएको फाइनलमा अत्तरियाले डडेल्धुरालाई ३४ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

झलारीका ललीत ऐरले जिते नगद एक लाख
क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका छन् ।

आज भएको फाईनल खेलमा छक्का प्रहार भएको बललाई समातेका ललीतले ब्रेड बक्सको तर्फबाट नगद एक लाख प्राप्त गरेका हुन् ।

ब्रेड बक्सले फाईनल खेलमा प्रहार भएको छक्का समात्ने पहिलो दर्शकलाई नगद एक लाख पुरस्कार घोषणा गरेको थियो । यस्तै अन्य छक्का प्रहार भएको बलमा पनि क्याच गरेमा प्रति क्याच १० हजार घोषणा गरिएको थियो ।

फाईनल खेलमा ललीतले दोस्रो क्याच गरेका हुन् । यसअघि हिजो भएको सेमिफाईनलमा पहिलो क्याच गर्दै बैतडीका हरिश भाटले ५० हजार पुरस्कार पाएका थिए । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ का ललीत ऐर आज भएको फाईनल खेल हेर्नका लागि चार जना काकाहरुसँगै फाप्लामा पुगेका थिए । चन्द सुर्य सेकेन्डरी स्कुलमा कक्षा १२ मा पढिरहेका उनले पाएको एक लाख पढाईमा लगानी गर्ने बताएका छन् ।