सुदूर पश्चिमका मन्त्री चौधरी द्धारा राजीनामा

धनगढी — आर्थिक लेनदेनको आरोप लागेपछि सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिएका छन् ।
शनिबार बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आर्थिक लेनदेनको आरोप लागिसकेपछि नैतिकताका आधारमा राजीनामा दिएको दाबी गरेका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए ।चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई राजीनामा बुझाएका छन् । दीगो वन व्यवस्थापन कार्यविधि मन्त्रिपरिषद्‌बाट पारित तथा कार्यान्वयन गर्नका लागि व्यापारीहरुबीच मन्त्री चौधरीले आर्थिक लेनदेनको सन्दर्भमा कुराकानी गरेको अडियो केही दिनअघि सार्वजनिक भएको थियो ।

अडियोमा उनले नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता, मुख्यमन्त्री लगायतलाई मिलाउन रकम चाहिने भन्दै कुरा गरेका थिए । मन्त्री चौधरीले उक्त अडियो भदौ महिनाको भएको र आफू भर्खरै मन्त्री भएको समयमा केही व्यक्ति भेट्न आएका बेला भएको कुराकानीको रहेको स्वीकार गरेका छन् ।

उनले पार्टीभित्रको आन्तरिक गुटबन्दीको पनि सिकार हुन पुगेको दाबी गरेका छन् ।कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीको सयूक्त सरकारमा चौधरी नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका थिए ।