धनगढी-सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेट भएको छ ।
शनिबार प्रदेश प्रमुखको निवासमा प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट भएको हो । भेटमा मुख्यमन्त्री शाहले प्रदेश सरकारको कामकारबाही, भारत भ्रमणका सम्बन्धमा प्रदेश प्रमुखलाई जानकारी जानकारी दिएका छन ।
संसद सूचारु गर्ने विषयमा समेत छलफल भएको छ। भारत सरकारको निमन्त्रणमा बैशाख १६ गते देखि २२ गतेसम्म मुख्यमन्त्री शाह सहितको १० जनाको टोली भारत जाने कार्यक्रम तय भएको छ ।
नेपालको इतिहासमा पहिलो पटक सुदूरपश्चिम प्रदेश सरकारलाई भारत सरकारले औपचारिक रुपमा निमन्त्रणा गरेको हो । प्रदेश सरकारले यसलाई उपलब्धीको रुपमा लिएको मुख्यमन्त्री शाहले बताएका छन । उनले भारत भ्रमणका क्रममा प्रदेश सरकारले आयोजना गर्न गइरहेको लगानी सम्मेलन, उर्जा, पर्यटन, कृषिलगायतका विषयमा छलफल हुने बताए । टोलीले भारतको दिल्ली, देहरादुन, अयोध्या र लखनउ लगायतका ठाउँको भ्रमण गर्नेछ ।
मख्यमन्त्रीको सचिवालयका अनुसार पहिलो दिन भ्रमण टोली काठमाडौँबाट हवाईमार्ग भएर दिल्ली जाने छ, दोस्रो दिल्लीमा संघीय मन्त्रीसँगको भेटघाट, विवेकानन्द अन्तराष्ट्रिय फाउण्डेसन संघसँग अन्तरक्रिया रहेको छ । क्रमश टोलीले भारतिय कृषि अनुसन्धान संस्थाको भ्रमण, अयोध्याको धार्मिक पर्यटकिय क्षेत्रको भ्रमण, देहरादुनका कृषि क्षेत्र सहित पर्यटकिय क्षेत्रको भ्रमण, उत्तरखण्ड मुख्यमन्त्री तथा कृषिमन्त्रीसँगको भेट पश्चात लखनउबाट स्थलमार्ग हुँदै कैलाली आउने कार्यक्रम तय भएको छ ।
भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादी का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य झपटबहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा.कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट भ्रमण टोलीमा रहने जनाइएको छ ।

इडटपेन 









