धनगढी- आइतवारदेखि लगातार वर्षा हुँदा प्रदेश राजधानी धनगढी सहित कैलाली र कैलालीका अधिकास क्षेत्र जलमग्न भएको छ ।
धनगढी उपमहानगरपालिकामा घर डुबान फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ।धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका चारजना र धनगढीको बेली गाउँका चारजना गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोसीले बताए। त्यस्तैबेलीका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ। त्यसैगरी, धनगढी–१३ श्रीलङ्काका एकै परिवारका चार जनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ।
सूचना अधिकारी जोसीले गएराति देखिको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै दुई हजार घरमा पानी पसेको बताए। जसमा धनगढीका ३, ४, १३, १, ७ र ११ नम्बर वडा वर्षाका कारण प्रभावित भएको उनले बताए।
दिनभरकोे बर्षाले धनगढीको मुख्य सडक क्षेत्रलगायत, रातो पुल, हसनपुर, विशालनगर लगायतका क्षेत्र डुबानमा परेका छन्।मुख्य बजार क्षेत्र अन्तर्गत रातो पुल ब्यापारिक पसल भित्र पानी पसेको छ । त्यस्तै विद्यार्थीहरूलाई आवतजावतमा कठिनाइ हुने भएपछि धनगढीका चैतन्य पाठशाला , एक्सिस बिद्याश्रम लगायत विद्यालयहरूले बिदा गरेका छन् ।
आइतबार रातिदेखि भारी वर्षा भइरहेकोले स्थानीय खोलानालामा पनि पानीको सतह अत्यधिक बढेको छ । कञ्चनपुर
लगातारको वर्षापछि डुबानका कारण कञ्चनपुरमा दस परिवार विस्थापित भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार पुनर्वास नगरपालिका–७, कृष्णपुर नगरपालिकामा एक र भीमदत्त नगरपालिकामा दुई गरी दस परिवार विस्थापित भएका हुन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराका अनुसार पनुर्वास नगरपालिका–५ पशुपतिचोक नजिकैमा डुबानका कारण सात परिवार विस्थापित भएका छन् । उनीहरुलाई उद्धार गरेर इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको टोलीले नजिकै छिमेकीको घरमा सारेको छ ।
यसैगरी कृषिपुर नगरपालिका–७ कार्कीकटानमा गोदावरी खोलाको बाढीका कारण दुई परिवार विस्थापित भएका छन् । भीमदत्त नगरपालिका–१९ त्रिवेणी टोलमा पनि डुबानका कारण एक परिवार विस्थापित भएका छन् । घर डुबानमा परेपछि पाँचजनासहित गाई, भैंसी र बाख्रालाई सुरक्षित स्थानमा सारिएको छ ।

इडटपेन 









