फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ईआईए प्रक्रिया सम्पन्न

धनगढी- फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया सम्पन्न भएको छ ।
फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति, धनगढीका अध्यक्ष सुवाश शाहीले अव रंगशाला तथा खेलग्राम परियोजना निर्माणमा ब्रेक थ्रु भएको बताएका छन । उनलेनेपाल सरकार वन तथा वातावरण मन्त्रालयले ईआईए स्वीकृत गरेसँगै परियोजनाको खाकाले मूर्तरुप पाउँनुका साथै अगाडि बढ्ने मार्गचित्र पनि प्रष्ट पारेको बताएका छन ।
‘आईएसँगै परियोजना निर्माणका लागि आवश्यक महत्त्वपूर्ण कानूनी प्रक्रिया पूरा हुनु परियोजना जीवनको ठूलो उपलब्धि भएको छ’ उनले भने, ‘ईआईए पास भएसँगै अब स्रोतको सुनिश्चितता गर्दै ग्लोबल टेन्डरमा जाने प्रक्रिया अघि बढ्नेछ ।’ उनले फाप्लामा एकदिन विश्वकप आयोजना गर्ने हाम्रो सपनालाई मुर्तरुप दिनुका साथै धनगढीलाई सिटी अफ क्रिकेटका रुपमा ग्लोबल ब्रान्डका रुपमा स्थापित गर्ने बताए ।
सरकारको उच्च प्राथमिकतामा रहेको यश परियोजनाका लागि यसअघि आवश्यक जग्गा प्राप्ति, विकास समिति गठन तथा डीपीआर निर्माण जस्ता महत्वपूर्ण प्राविधिक कार्यहरु सम्पन्न भइसकेका छन् । २६ अर्ब लागत अनुमान गरिएको खेलग्राममा क्रिकेट रंगशाला मात्रै ५० हजार दर्शक क्षमताको हुने छन । खेलग्राममा क्रिकेट रंगशाला सहित फुटबल मैदान, पौडी पोखरी, ट्र्याक एण्ड फिल्ड, स्पोर्टस् म्युजियमसहित विभिन्न खेलकुद आयोजना गर्न सकिने मल्टि स्पोर्टस हलसहितका पूर्वाधार हुने उने जानकारी दिएका छन ।
खेलपर्यटनका माध्यमबाट सुदूरपश्चिमसँगै देशको आर्थिक उन्नयनका लागि कोशेढुंगा बन्ने यस परियोजनालाई मुर्तरुप दिन अहम् भूमिका खेल्नु हुने नेपाल सरकारका परराष्ट्रमन्त्री माननीय डा. आरजु राणा देउवा ,युवा तथा खेलकुद मन्त्री , वन तथा वातावरण मन्त्री ,सुदुरपश्चिम प्रदेश सरकार, खेलकुद मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिव , धनगढी उपमहानगरपालिका , कृष्णपुर नगरपालिका कञ्चनपुर ,धनगढी उपमहानगरपालिका वडा नम्बर ३ कार्यालय परिवार, लगायत सम्पूर्ण स्थानीयवासीहरु, फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार विकास समितिका पदाधिकारी ,कर्मचारी साथीहरु तथा प्राविधिक तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सुरुबाट नै अभियानमा सहयोग गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गरेका छन ।