धनगढी-ऋषिपञ्चमी भाद्र शुक्ल पञ्चमी तिथिमा व्रत बसी सप्तऋषिको पूजा गरिने भएकाले यस तिथिलाई ऋषिपञ्चमी भनिन्छ। यस व्रतमा सात ऋषिहरूको पूजा गरिन्छ ।
ऋषिपूजनर ऋषिपञ्चमीको महत्त्व
नारी र ऋषित्व आपसमा सर्जनका दृष्टिले बराबर मानिन्छन्। नारीबिना संसारको कल्पना गर्न सकिँदैन। तर ऋषिगुण बिनाको सृष्टि संसारको बोझमात्र भइदिन्छ। मनले जुन विषयको चिन्तन गर्दछ, त्यो वस्तु एक दिन अवश्य प्राप्त हुन्छ। यसर्थ ऋषिगुण सृष्टि गर्न पनि सर्जकमा ऋषिमन हुन आवश्यक छ ।
मन शुद्धिका लागि शरीरसमेत शुद्ध हुनुपर्छ। यसर्थ भाद्र महिनाको शुक्लपञ्चमीमा ऐहिक एवं पारलौकिक शरीर शुद्धिका दृष्टिले अपामार्ग आदिको दतिवन गरी ३६५ पटक माटो लगाई भौतिक शरीरको शुद्धि गरिन्छ भने शुद्ध भएको शरीरले मन्त्रद्वारा ऋषिहरूको व्रत उपासना, पूजा, परिक्रमा आदि गरिन्छ। यो कार्य नारी विशेषले गर्ने गर्दछन्। तर व्रतका अधिकारी पतिपत्नी दुवै हुन्। ऋषिपञ्चमी व्रतकथाले स्त्रीलाई व्रतकर्ता देखाएको छ। त्यो भौतिक स्नानसम्म हो। वस्तुतः ऋषिपञ्चमीको पूजा पतिपत्नी भएर नै गर्नुपर्छ।
सर्जक नारीहरूको सोच चिन्तन, शुद्धताको भाव मनमा पैदा भयो भने मात्र उनीहरूको कोखबाट जन्मिएको सन्तान पनि यस्तै पवित्र ऋषिमन भएको हुनेछ भन्ने प्रतीकात्मक अर्थमा यस पूजामा नारीहरूलाई विशेष कर्ता चयन गरिएको हो। मनभित्रको विकार, उथलपुथल, नकारात्मक भावनाको अन्त्य यस पञ्चमीमा कश्यपादि सप्तऋषिहरूको पूजाबाट सम्भव हुने भएकाले नारीहरूबाट पूजा गरी एकाग्रताको प्रतीकका रूपमा ‘पाइलो नउठाई’ सातचोटि परिक्रमा पनि गर्न लगाइएको हो। शरीरशुद्धि र मन शुद्धिपछि भोजनशुद्धिका लागि खनजोत नगरी आफैं उत्पन्न भएको सामा, तिनकी आदि अन्न खाने प्रेरणाले ऋषि अन्नलाई संकेत गरेको हो। स्वादिष्ट र अतिपौष्टिक त्यागेर जे पाइन्छ त्यसैमा सन्तोष गर्ने प्रेरणा जगाउनकै लागि सामा आदि सरल अन्न ग्रहण गर्न धर्मशास्त्रमार्फत सुझाइएको हो। ऋषिपञ्चमी

इडटपेन 









