कैलाली उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा राठीको स्वतन्त्र उम्मेदवारी

धनगढी राठी इन्टरप्राइजेजका सुरेन्द्र राठीले कैलाली उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । संघको नेतृत्वका लागि रुपेश स्वार र पुष्कर ओझा पुरै टीम सहित निर्वाचनमा रहेका बेला राठीले शुक्रवार स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

संघमा नया व्यवसायी, सक्षम व्यवसायीलाई छिर्न नदिने गरि विधान परिवर्तन गरिएपछि व्यवसायीहरुको प्रतिनिधिको रुपमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिएको राठीले बताए । ‘मेरो उम्मेदवारी व्यवसायिक हित र संघलाई व्यवसायीमैत्री बनाउनको लागि हो ।’ उम्मेदवारी दर्तापछि शुक्रवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा राठीले भने ‘संघलाई सदस्यको आवश्यकता अनुसार सहयोग गर्ने संगठन बनाउन पर्छ भन्ने मेरो मान्यता हो ।’

आम सदस्यहरुलाई नै थाहा नदिएर संघको विधान संशोधन गरिएको बताउँदै राठीले भने यसले संघको बिकासलाई रोक्छ । सीमित व्यक्तिले संघमा आफ्नो कब्जा बनाइराख्न बिधान पनि संशोधन गरेका छन् ।

कैलाली उद्योग वाणिज्य संघले हालै विधान संशोधन गरेर सदस्यमा निर्वाचित व्यक्तिले मात्र पदाधिकारीको उम्मेदवार हुन पाउने र पदाधिकारीमा निर्वाचित व्यक्तिले मात्र अध्यक्षको उम्मेदवार हुन पाउने व्यवस्था गरेको छ ।

राठी २०६३ सालमा कैलाली उद्योग वाणिज्य संघको सदस्यमा निर्वाचित भएका थिए । यसअघिको अधिवेशनमा राठीले संघको अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।