विद्यालयमा अतिरिक्त क्रियाकलाप ठप्प

कञ्चनपुर — दुई वर्षयता अधिकांश सामुदायिक विद्यालय स्तरमा अतिरिक्त क्रियाक्लापहरू ठप्पजस्तै भएका छन् । खेलकुद होस् वा अन्य बौद्धिक प्रतियोगिताहरू कहीं कतै पनि हुन सकेका छैनन् ।

कोरोना संक्रमण कम भएपछि विद्यालयमा पठनपाठन सुचारु भएपनि अतिरिक्त क्रियाकलापतर्फ भने कसैको ध्यान पुगेको छैन ्। खेलकुदलगायतका भौतिक पुर्वाधारहरू जीर्ण बनेका छन् । अन्य क्रियाकलाप पनि कोरोना संक्रमणकै कारण हुन नसकेको शिक्षकहरू बताउछन् ।

‘पाठ्यपुस्तकै पढाइ सक्न गाह्रो भइरहेको छ, कतिबेला अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने,’ कञ्चनपुरको बेदकोट नगरपालिकाको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक छविराज पण्डेयले भने, ‘विगतमा हरेक हप्ता हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला, वादविवादलगायतका गतिविधि हुन्थे, तर अहिले सबै ठप्प छ ।’ उनका अनुसार वालवालिकाहरूका लागि खेलकुद मैदान समेत छैन । कञ्चनपुरमा कोरोना संक्रमण कम भएपछि भदौदेखि नै विद्यालयहरू खुलेका हुन् । केही समय स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको थियो भने अहिले कुनै मापदण्ड छैन । तर विद्यालयहरूले अतिरिक्त क्रियाकलापका लागि भने संक्रमणकै वहाना देखाउने गरेका छन् ।

मांसिर अन्तिम साता शिक्षा विकास तथा समन्वय इकाईको टोली विद्यालयहरूको अनुगमनमा जाॅदा पनि प्रधानाध्यापकहरूले यहि कुरा दर्शाए । उनीहरूले एकातिर कम समयमा पाठ्यक्रम पढाइसक्नुपर्ने र अर्कोतिर संक्रमणको जोखिम भएकाले अतिरिक्त क्रियाकलाप हुन नसकेको बताए । ‘दुई वर्षदेखि विद्यालयहरूमा अतिरिक्त क्रियाकलाप ठप्प हुन पुगेको छ,’ शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कञ्चनपुरका शाखा अधिकृत रुपराम तिरुवाले भने, ‘किताबी ज्ञानबाट मात्रै विद्यार्थीको सर्वागिंण विकास हुन सक्दैन ।’ कञ्चनपुरमा २ सय ६१ सामुदायिक विद्यालय छन् ।

कोरोना संक्रमणका कारण लामो समय घरमै बसेका वालवालिकालाई मानसिक रुपमा समेत असर परेको छ । उनीहरूलाई अतिरिक्त क्रियायाक्लाप अझै आवश्यक पर्छ । विद्यालयस्तरमा यस्ता गतिविधिहरू पुन सुचारु गर्न सबैले ध्यान दिनुपर्ने आवश्यक देखिएको छ ।

हप्तामा ६ दिन पठनपाठन हुन्छ । अतिरिक्त क्रियाक्लापलाई कुनै समय भने तोकिएको छैन । शुक्रबारका आधादिन पठनपाठन र त्यसपछि आधादिन अतिरिक्त क्रियाकपलाप गर्ने शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख राजेन्द्र भट्टले बताए । ‘शुक्रबारका दिन आधादिनमै छुट्टी गर्ने भन्ने होइन,’उनले भने, ‘आधा दिन पढाएर आधा दिन अतिरिक्त क्रियाकलापका गतिविधि गर्नुपर्ने हो, तर यहाँ त्यो हुन सकेको छैन ।’कान्तिपुर सभार