मुक्त हलियाको समस्या स्थायी समाधान खोजौ – मुख्यमन्त्री भट्ट

धनगढी- १८औँ मुक्त हलिया दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त हलियाका समस्या स्थायी, दिगो र न्यायोचित रूपमा समाधान गर्नुपर्ने बताएका छन ।
राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले आयोजना गरेको ‘मुक्त हलियाहरूको दिगो र न्यायोचित पुनर्स्थापनाका सन्दर्भमा सरोकारवालाबीच प्रदेशस्तरीय संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले लामो समयदेखि हलिया समस्या समाधान हुन नसक्नु दुःखद भएको बताएका हुन ।
उनले प्रदेश सरकार वास्तविक पीडित मुक्त हलियाहरूका मागप्रति गम्भीर र जवाफदेही रहेको समेत बताए । उनीहरूको पीडाप्रति आफ्नो पूर्ण ऐक्यबद्धता ब्यक्त गरे ।
उनले यति लामो समयसम्म पनि हलिया समस्या समाधान हुन नसक्नुमा राज्य पक्ष वा सम्बन्धित संघ–संस्थामध्ये कसको कमजोरी रह्यो भन्ने विषयमा समेत समीक्षा गरी स्पष्ट निष्कर्षमा पुग्नुपर्ने बेला भएको बताए ।,उनले विगतको समीक्षा गर्दै कमजोरी पहिचानगरि त्यसबाट एउटा निष्कर्ष निकालेर मुक्त हलियाका समस्या समाधानतर्फ ठोस रूपमा अघि बढ्नु पर्ने मुख्यमन्त्री भट्टको धारणा रहेको छ ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमनबहादुर भण्डारी, आर्थिक मामिला राज्यमन्त्री जानकी ऐर बम र भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी कुँवरलगायतको समेत सहभागिता रहेको थियो।