सुदूरपश्चिममा निरन्तरताको बर्षाले बाढीपहिरोको जोखिम ,सतर्कता अपनाउन आग्रह

धनगढी -कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ। वर्षा आगामी तीन दिनसम्म कायमै रहने सम्भावना रहेको जल तथा मौषम विज्ञान कार्यालयले जनाएको छ।
मौसम पूर्वानुमानअनुसार आजदेखि २४ गतेसम्म हिमाल, पहाड र तराईका अधिकांश भूभागमा मौसम साधारणतया बदली रहनेछ। यस अवधिमा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। सोहीअनुसार आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
हिमाली क्षेत्रमा थोरै, पहाडी र तराई क्षेत्रका अधिकांश क्षेत्रमा मेघगर्जन हुने सम्भावना छ। राति पनि हिमाली क्षेत्रमा थोरै तथा पहाडी र तराई क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना रहँदा पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान छ ।

जल तथा मौषम विज्ञान कार्यालयका अनुसार मंगलबार वर्षाको दायरा केही घट्ने देखिए पनि मौसम पूर्ण रूपमा नखुल्ने, हिमाली तथा पहाडी क्षेत्रमा थोरैदेखि धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मंगलबार राति भने तीनै भूभागका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।