प्रेमीसँग मिलेर श्रीमतीले श्रीमानको हत्या

धनगढी- लम्कीचुहा घर भई अमरावतीस्थित ससुरालीमा बस्दै आएका दीपक सुनारको हत्या प्रेमीको सहियोगमा श्रीमतीद्धारा गरिएको प्रहरीको प्रारम्भिक अनुसनधानबाट खुलेको छ । प्रहरीले श्रीमती एमुना सुनारले प्रेमीसँग मिलेर योजना बनाएको प्रारम्भिक निष्कर्ष निकाल्दै एमुनासहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको बिज्ञप्तीमा उल्लेख छ ।
पक्राउ पर्नेमा एमुनाका प्रेमी भनिएका लम्कीका दुर्योधन सुवर्णकार , टीकापुर–३ का रामराजेश महतो तथा कञ्चनपुरको बेलौरी–८ का बीरेन्द्र राना र भीम राना रहेका छन्।
साउन २२ गते दिउँसो करिब २ बजे प्रहरीले अमरावती जंगलमा रगतसहित दाउ, प्लास्टिकको थैली, चप्पल, हेल्मेट र जेब्राझोलाको ताना फेला पारेको थियो। रगत फरेन्सिक परीक्षणबाट मानिसको भएको पुष्टि भएपछि प्रहरीले अनुसन्धानलाई बेपत्ता रहेका दीपक सुनारको खोजीसँग जोडेको थियो। त्यै दिन साँझ करिब ५ बजे एमुना श्रीमान् दीपक बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय लम्की पुगेकी थिइन्। आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै प्रहरीले उनलाई टीकापुर पठाएको थियो।
प्रहरीका अनुसार हत्या आरोपितहरू साउन २१ गते टीकापुर पुगेका थिए। सोही दिन दिउँसो एमुना र उनका प्रेमी दुर्योधन एउटा होटलमा बसेका थिए। पछि एमुना जानकी गाउँपालिकास्थित आफ्नो घर फर्किइन् भने अन्य चार जना गोचाली खाजा घरमा नास्ता गरेर बसेका थिए। राति करिब १० बजे उनीहरू अमरावती पुगे। उनीहरू जंगल पुगेको जानकारी एमुनालाई गराएपछि उनले श्रीमान् दीपकलाई स्कुटीमा राखेर जंगलतर्फ लगेकी थिइन्।प्रारम्भिक अनुसन्धानअनुसार जंगलमा पुगेपछि दीपकमाथि हतियार प्रहार गरिएको थियो। हत्या गरेपछि शव कर्णाली नदीमा फालिएको पक्राउ परेकाहरूले प्रहरीसमक्ष बयान दिएको बताइएको छ।